अपांगता क्षेत्रका अभियन्ताले अपांगता भएका व्यक्तिको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न माग गरेका छन् ।
क्रान्तिकारी अपांग संघको टोलीले आज नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालासँगको भेटका क्रममा उक्त ऐन छिटो पारित गर्न माग गरेका हुन् । लामो समयदेखि विधेयकको सबै प्रकृया पुरा भई संसदमा सम्बन्धित मन्त्रीबाट टेवुल गरी पारित गर्न मात्र बाँकी रहेको अवस्थामा अपांगता भएका व्यक्तिको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध गरेको अपांग संघका संयोजक टेकनाथ न्यौपानेले बताउनुभयो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क सञ्चालन गर्न तथा सातवटै प्रदेशमा अपांगता पुनःस्थापना केन्द्र थापना गरी द्वन्द्वबाट प्रभावित अपांगता भएका व्यक्तिको शारीरिक पुनःस्थापना र स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेको उहाँले बताउनुभयो । छिटो ऐन पारित नहुँदा अपांगता भएका व्यक्तिका अधिकार संरक्षित हुन नसकेको र अपांगता नभएका व्यक्तिले फाइदा पाउने गरेको, अपांगतामा पनि सवैभन्दा संवेशनशिल अपांगताता भएका व्यक्तिले पहिचान पाउन नसकेकाले अन्यायमा परेका न्यौपानेको भनाइ थियो ।
सो अवसरमा मन्त्री कोइरालाले उक्त विधेयकलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखी छिटोभन्दा छिटो पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो टोलीमा पूर्वसभासद इन्द्रमाया गुरुङ, अपांग संघका संयोजक न्यौपाने, क्रान्तिकारी संघ विद्यार्थी प्रमुख टिकाराम पराजुली, अपांग योद्दा संघका केन्द्रिय सदस्य राम कार्कीलगायतको सहभागिता रहेको थियो ।