उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले प्राथमिकताका आधारमा खानी तथा खनिज पदार्थकोे खोजी र उत्खनन् गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।
समिति अन्तर्गतको उपसमितिका संयोजक नारायणबहादुर कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले सो सुझाव दिएको हो ।
नेपालमा रहेका खानीको अवस्था, खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्षमा गरेको कार्यप्रगति , मुख्य समस्या तथा चुनौती, आव ०७४÷७५ को वार्षिक बजेट र कार्यक्रमका विषयमा छलफल भएको थियो ।
छलफलमा व्यवस्थापिका–संसद्का सदस्य क्रमशः सुभाषचन्द्र ठकुरी, रमेश लामा, शम्भुकुमार श्रेष्ठ, अनिलकुमार सिङ्गटा, सोमप्रसाद पाण्डे र बुद्धिराम भण्डारीका विभिन्न सुझाव तथा जिज्ञासा व्यक्त भएका थिए ।
उपसमितिका संयोजक कार्कीले पेट्रोलियम पदार्थको अन्वेषण गर्न नयाँ समूहको खोजी गर्न, युरेनियमा उत्खनन् सम्बन्धी ऐनको मस्यौदा तयार गर्न, उपत्यकामा देखिएका मिथेन ग्यास र नवलपरासीको फलाम उत्खनन् गर्न निर्देशन दिनुभयो ।
छलफलमा खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले विभागमा सीमित जनशक्ति रहेको, पूर्वाधार (खनिज पदार्थका लागि पहुँच मार्ग र बिजुली) को व्यवस्था नभएको, क्षेत्रगत नीतिमा एकरुपता र समन्वय हुन नसकेकोजस्ता समस्या रहेको चर्चा गर्नुभयोे ।