नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले देशमा युवालाई उत्पादनशील क्षेत्रमा समेट्न सकेमात्र मुलुकमा आर्थिक सशक्तीकरण सम्भव हुने बताउनुभएको छ ।
मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले मुलुकको जनसङ्ख्याको ठूलो हिस्सा युवा वर्गले आगेटेको भए पनि उनीहरुलाई उत्पादनमा जोड्न नसकेकाले युवा जनशक्ति पलायन हुन बाध्य भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिभन्दा माथि उठेर आफूले दैनिक प्रशासनिक कार्य गर्ने बताउनुभयो ।
सचिव महेशप्रसाद दाहालले नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको जानकारी गराउँदै त्यसलाई सम्पन्न गर्न रु डेढ अर्ब आवश्यक पर्ने बताउनुभयो ।
उहाँ विसं २०४६ पछि नेपाली काँगेसमा आबद्ध भई सक्रिय राजनीति गर्नुभएको हो । विसं २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट निर्वाचित हुनुभएको थियो ।
वातावरणमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड
त्यसैगरी नवनियुक्त जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले पछिल्लो समय बढ्दै गएको धुँवाधुलोले फैलाएको प्रदूषण न्यूनीकरण गरी वातावरणमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्रालयमा पदबहाली गर्दै उहाँले पर्यावरणको संरक्षण गर्न सकेमा मात्र स्वच्छ जीवन कायम गर्न सकिने बताउनुभयो ।
उहाँले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ नेकपा (संयुक्त) का तर्फबाट सप्तरीबाट समानुपातिक सभासद्मा निर्वाचित हुनुभएको थियो ।