नवनियुक्त रक्षामन्त्री भीमशेनदास प्रधानले सिंहदरबारको पुतली बगैँचास्थित रक्षा मन्त्रालयमा आज पद बहाली गर्नुभएको छ ।
उहाँलाई प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटालगायत मन्त्रालयका उच्च पदस्थ अधिकृतहरुले स्वागत गर्नुभएको थियो । सचिव सापकोटाले मन्त्री प्रधानलाई मन्त्रालयको समग्र वस्तुस्थिति र नेपाली सेनाका बारेमा आजै संक्षिप्त जानकारी गराउनुभयो ।
लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका मन्त्री प्रधानसँग नेपाल प्राध्यापक संघका अध्यक्ष भई काम गरिसक्नुभएको अनुभव छ । नेपाली काँग्रेसमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित प्रधान संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित हुनुभएको थियो ।
उहाँ यसअघि नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको सभापतिसमेत हुनुहुन्थ्यो ।