खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले देशभरका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयमा आज पदबहाली गर्ने क्रममा मन्त्री यादवले संविधानले खानेपानीलाई मौलिक अधिकारका रुपमा समावेश गरिसकेकाले प्रत्येक नागरिकसमक्ष खानेपानी पु¥याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको हो ।
“घर, बाटो नभई मानिस थुप्रै दिन बाँच्न सक्छ तर पानी नभए मानिस बाँच्न सक्दैन, त्यसैले खानेपानीलाई आम जनतासमक्ष पु¥याउने मेरो मुख्य काम हो”– मन्त्री यादवले भन्नुभयो ।
तरुण दलका पूर्वअध्यक्षसमेत भइसक्नुभएका मन्त्री यादवले धेरै रोग खानेपानीका कारण लाग्ने गरेकाले शुद्ध खानेपानी आपूर्ति गर्न मन्त्रालय जिम्मेवार भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मैले सांसद विकास कोषबाट छुट्याएको बजेट जिल्लाको खानेपानी र सरसफाइका क्षेत्रमा खर्च गरेको छु । संयोगले मैले खानेपानी मन्त्रालयको जिम्मेवार पाएको छु । मिलेर काम गरौँ ।”
नवनियुक्त मन्त्रीलाई स्वागत गर्दै मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्चीको पानी उपत्यकामा ल्याउन कर्मचारीले गम्भीर भएर काम गरिरहेको बताउनुभएको थियो ।