काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकासका लागि आफू बोलेर होइन महसुस गर्ने गरी काम गरेर देखाउने बताउनुभएको छ ।
नेपाल मानव धर्म सेवा समितिले आज यहाँ आयोजना गरेको “गुरु पुजा महोत्सव— २०७४” को उद्घाटन गर्दै उहाँले महानगरवासीले छिट्टै विकासको परिवर्तन महसुस गर्ने गरी कार्ययोजना अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले सामाजिक सद्भाव सहिष्णुताको लागि धर्म तथा संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
गौशालास्थित समितिको कार्यालयमा सम्पन्न गुरुपुजा महोत्सवमा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले गुरुको महिमा, भौतिक जीवनमा अध्यात्मको महत्वका विषयमा प्रवचन दिनुभएको थियो । समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेलले अध्यात्म र सामाजिक विकासका क्षेत्रमा संस्थाले सामाजिक कार्यमा शैक्षिक सामग्री वितरण, बृहत रक्तदान तथा नगर सरसफाईका गतिविधिमा अभियान नै चलाएको जानकारी गराउनुभयो ।
सोही अवसरमा समितिले काठमाडौंँ महानगरपालिकाका प्रमुख शाक्यलगायत वडा नं ९ का सम्पूर्ण पदाधिकारीलाई सम्मान गरेको थियो ।
त्रिसठ्ठी गुरु सम्मानित
गुरु पूर्णिमाका अवसरमा काठमाडौंँ ज्यापु साँस्कृतिक विकास कोषले आज कामपा भित्रका ६३ साँस्कृतिक गुरुलाई सम्मान गरेको छ ।
सो अवसरमा कामपाका प्रमुख शाक्यले काठमाडौँको संस्कृति संरक्षणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभयो । काठमाडौँको पहिचान कायम गराउन पनि स्थानीय जात्रा र पर्व तथा कला संस्कृतिको जगेर्ना गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोषका अध्यक्ष मंगल सिंहले ज्यापु समुदायको उत्थान र विकासका लागि नयाँ योजनाका साथ काम गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोषका संरक्षक तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले गुरुको महत्वबारे प्रकाश पार्दै संस्कृति संरक्षणमा वाद्यवादक गुरुको विशेष महत्व रहेको आँैल्याउनुभयो ।
मूर्त अमूर्त सँस्कृतिको निरन्तरताका लागि महानगरका हरेक टोलमा एक गुरु, एक नाय, एक कजी र एक हामुको व्यवस्था गरिएको हुन्छ । हरेक वर्ष ‘योमरी पुन्ही’का दिन कोषको आयोजना तथा परम्परागत टोलको संयोजनमा राष्ट्रिय ज्यापू दिवस मनाउने गरिन्छ ।