उदयपुर जिल्लाको कटारी नगरपालिकाको प्रमुख तथा उपमप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले छ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हुनुभएको छ ।
यस्तै, उपप्रमुखमा पनि एमालेका उम्मेदवार भीमकुमारी राउतले सात हजार ५१७ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताउनुभएको छ ।
प्रमुख पदमा श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञानेन्द्रमान सिंह राउतले छ हजार ७३५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखका उम्मेदवार काँग्रेसकै निर्मला कार्कीले पाँच हजार ८८७ मत प्राप्त गर्नुभएको छ ।
यता नेकपा (माओवादी केन्द्र)का प्रमुखका उम्मेदवार केपी बरालले पाँच हजार ५६४ मत प्राप्त गरेर तेस्रो मत ल्याउनुभएको छ ।
अहिलेसम्मको परिणामअनुसार उदयपुर जिल्लाका आठ स्थानीय तह – चार गाउँपालिका र चार नगरपालिकामध्ये नेकपा (एमाले)ले तीन गाउँपालिका र कटारी नगरपालिकासहित चार स्थानमा विजय हासिल गरिसकेको छ । यता, चौदण्डीगढी नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ भने अहिले त्रियुगा नगरपालिकाको मतगणना जारी रहेको छ ।