प्रदेश नं ३ भित्रका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरिएको स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा बिहीबारबाट सुरु भएको कार्य प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवम् उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुको सहभागितो थियो ।
तीन दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा छलफल भएका विषयलाई घोषणापत्रको बुँदामा उल्लेख गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले बताउनुभयो ।
निर्वाचनका समयमा सार्वभौम नागरिकसमक्ष गरेका प्रतिबद्धताअनुरुप स्वच्छ र सदाचारयुक्त सुशासनको प्रत्याभूतिसहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यास गर्दै स्थानीय तहबाट प्रवाह गरिने सेवामा निष्पक्षता, पारदर्शिता, प्रभावकारिता, मितव्ययिता, जवाफदेहिता, उत्तरदायी एवम् जिम्मेवारयुक्त शासनप्रणालीको प्रवद्र्धन गर्न प्रतिबद्धता घोषणापत्रमा छ ।
घोषणापत्रमा भनिएको छ –‘जनतालाई छिटो, छरितो, प्रभावकारी, गुणस्तरीय सेवाप्रवाह सुनिश्चित गरी समावेशी शासन र योजनाबद्ध विकासमार्फत दिगो शान्ति र समृद्धि हासिल गराउन हामी प्रतिवद्ध छौ ।”