![k6s k6s :ylut eP/ klg ;+;bsf] a}7s d+unaf/ a:g g;s]kl5 kms{b} g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] hf]8L . tl:a/ M /Tg >]i7, /f;; .](http://www.margadarsannews.com/wp-content/uploads/2017/06/deuba-775x437-500x282.jpg)
नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहनुभएको छ ।
सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।
मनोनयन अघिबसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गर्नुभएको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिनुभएको थियो ।