मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा(एमाले) र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ ।
आज बिहान नीलकण्ठ क्याम्पस बन्द गरिएको थियो । सदरमुकामका सरकारी तथा निजी विद्यालय पनि बन्द गरिएको छ । बजार बन्द गराइएपछि काँग्रेस कार्यकर्ता चोक चोकमा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै बसेका छन् ।
शुक्रबार ज्वालामुखी गाउँपालिका– ३ कोलेमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । गाउँपालिकामा काँग्रेसले अध्यक्षसहित विजय हासिल गरेको र एमालेले उपाध्यक्षसहित बहुमत वडा जितेपछि शुक्रबार छुट्टाछुट्टै विजयसभा गरेका थिए ।
विजय सभाबाट घर फर्कँदै लगरेका एमाले कार्यकर्ता चढेको गाडीमा वियरको बोतल र ढुङ्गा हानिएको र त्यसपछि झडप भएको एमालेले जनाएको छ ।
काँग्रेसले भने आफूहरुमाथि आक्रमण गरिएको जनाएको छ । झडपमा काँग्रेसका चार र एमालेका दुई जना घाइते भएको बताइएको छ । झडपका क्रममा गाउँपालिका प्रमुखमा निर्वाचित काँग्रेसका विनोद तिमल्सिना तथा काँग्रेसका नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् ।
घाइतेको जिल्ला अपतालमा उपचार भइरहेको छ । भट्टद्वयको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरले घर फिर्ता गराएपछि नरेन्द्रलाई ग्रिनसिटी अस्पतालमा पुनः भर्ना गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
एमालेका अमृत आले, नारायण पुरी र एक बालकसमेत गाडीमा ढुङ्गाले लागेर घाइते भएका छन् । घाइते एमाले कार्यकर्ताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेको स्थानमा प्रहरीले नियन्त्रणमा लिएर सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । घटनास्थलमा थप क्षति हुन नदिन सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । हाल जिल्लाको सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस