नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताउनुभएको छ ।
चुनाव प्रचारप्रसार समितिले स्थानीय असनमा आज आयोजना गरेको ‘काठमाडौँ महानगरपालिकालाई यथार्थमा महानगर बनाउने प्रतिबद्धता’ सभामा उहाँले काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको जिम्मा पनि काँग्रेसको काँधमा आएकाले निर्वाचन जित्नुपर्नेमा जोड दिनुभयो ।सभापति देउवाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायका जनप्रतिनिधि चयनका लागि स्थानीय तहको निर्वाचनको निकै महत्व छ भन्दै नगरको विकासका लागि प्रचारबाजीभन्दा पनि इमान्दारपूर्वक आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले प्रजातान्त्रिक वातावरणमा जनतालाई मालिक बनाई दिगो शान्ति र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन काँगे्रसको नेतृत्व आवश्यक भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रिय एकता नै नेपालको राष्ट्रवाद भएको बताउँदै मधेसी, पहाडी र हिमाली सबैलाई एकताका सूत्रमा बाँध्नु नै अहिलेको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले समृद्ध महानगर निर्माणका लागि काँगे्रसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रको संस्थागत विकास र देशलाई समृद्ध बनाउन काँग्रेस नेतृत्व अपरिहार्य भएको बताउनुभयो ।
कामपा प्रमुखमा काँग्रेसका उम्मेदवार राजुराज जोशीले समृद्ध महानगरको प्रतिबद्धता सार्वजनिक गर्दै तत्कालै नगरलाई धुलोमुक्त बनाइने तथा पाँच वर्षभित्र काठमाडौँमा निःशुल्क वाइफाइको व्यवस्था र मेट्रो रेल चलाउने व्यवस्था गरिने बताउनुभयो । महानगरपालिकामा काँग्रेसबाट उपप्रमुखका उम्मेदवार हरिप्रभा खड्गीले (श्रेष्ठ) ले सुन्दर, स्वच्छ, धुलोरहित महानगर बनाउन आफू लागिपर्ने बताउनुभयो ।