दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ ।
नगरपालिकाको जोरपाटीमा नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताल, अपाङ्गता भएका बालबालिकाका लागि विशेष माध्यमिक विद्यालय रहेका छन् ।
“स्थानीय तहको निर्वाचन समावेशी हुनुपर्छ भनिए पनि समाजको महत्वपूर्ण अङ्ग अपाङ्गता भएका व्यक्तिलाई अपमान गरिएको छ, जोसुकै व्यक्ति अपाङ्ग हुनसक्छ, यसतर्फ सबै दलको ध्यान जानु जरुरी छ”– उहाँले भन्नुभयो ।
सो अवसरमा मोबाइल बनाउने प्राविधिक सीप सिकेका पाँच जना अपाङ्गलाई मोबाइल मर्मत वर्कसप खोल्न आवश्यक सामग्री प्रदान गरियो । राजु धिताल, नरबहादुर मगर, हेमबहादुर भुजेल, निर्मला गौतम र योङ्जेन घ्लानलाई रु दुई लाख बराबरको मोबाइल सफ्टवेयर, मोबाइल टुल्स एन्ड पार्टस्लगायत सामग्री वितरण गरिएको थियो ।
सामग्री वितरण गर्न गोकर्णेश्वर नगरपालिका, गैरआवासीय नेपाली धर्मराज गिरी र चलचित्र निर्देशक अक्कलसिंहले आर्थिक सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।
यसैगरी दुवै गोडा नचली हिँडडुल गर्न नसक्ने फणीन्द्रबहादुर मगरलाई ह्विलचियर प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, दाताहरु गिरी र सिंहले अपाङ्गता भएका व्यक्तिलाई पनि नीतिनिर्माण तहमा पद आरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।