निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ ।
बैठक सम्पन्न भएपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी गराउँदै एमाले सचिव योगेश भट्टराईले भन्नुभयो – “एक महिनाको अन्तरमा दुई चरणमा निर्वाचन गराउन खोज्ने र त्यसैको चर्चा गरेर बहुसङ्ख्यक प्रदेशमा निर्वाचन गराउने योजना षड्यन्त्रमूलक रहेको एमालेको ठम्याइ छ । बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको छ ।”
दुई चरणमा चुनाव गर्ने भएपनि बजेट भाषणअघि नै गर्नुपर्ने पक्षमा एमाले रहेको बताउँदै उहाँले भन्नुभयो – “सरकारको षड्यन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति एमालेको आपत्ति छ ।”
जेठ १५ गते चुनावी बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको सङ्ख्या तलमाथि गर्न नहुने एमालेका माग हुन् ।
यसैबीच, एमाले स्थायी कमिटी बैठकले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णयसमेत गरेको छ । उहाँले भन्नुभयो – “अहिले ल्याइएको संविधान संशोधनको प्रस्तावलाई सबै शक्ति लगाएर असफल पार्ने निर्णय एमालेले गरेको छ ।”
एमालेको भोलि पुनः बस्ने बैठकमा उम्मेदवार चयन र घोषणापत्रबारेमा छलफल हुने बताइएको छ ।