उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताउनु भएको छ ।
उहाँले मधेस केन्द्रित दल संविधानतः राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र मुलुकले विकासको गति अगाडि बढ्ने धारणा प्रकट गर्नुभयो ।
नेकपा (एमाले)लाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने स्पष्ट पार्दै उहाँले संविधान कार्यान्वयनका लागि मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गर्नुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि मिति तय हुने जानकारी गराउँदै उहाँले निर्वाचन आयोगले व्यावहारिक रुपमा दर्ता भएका दललाई एकै चुनाव चिह्न प्रदान गर्नुपर्ने बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सिद्धान्ततः देशभरि जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या कायम गर्नुपर्ने भए पनि अहिले मोर्चाको माग सम्बोधन गर्न केही प्रदेशमा मात्रै सङ्ख्या थप हुने प्रस्ट पार्नुभयो ।