नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि यही फागुन २१ देखि चैत ५ गते आयोजना गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका लागि स्वयम् सेवकका लागि निर्देशन दिँदै सक्रमणकालको अन्त्य, राजनीतिक स्थिरता, राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र सामाजिक सद्भावका लागि मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान सार्थक हुने बताएका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा अभियानमा खट्ने स्वयम् सेवकहरुलाई प्रशिक्षण दिदै अध्यक्ष ओलीले पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै उनले भने, ‘यो एउटा यस्तो अभियान हो, जो अभूतपूर्व छ, असाधारण छ, छर्लङ्ग छ, एमालेबाहेक अरुले गर्न सक्दैनन् । यस्तो विचार र संगठन अरुसँग हुँदैन र यो राष्ट्रका लागि गरिएको हो ।’ उनले तराई मधेशमा त्यहाँका जनताको भावना अनुसार काम गर्न आग्रह गर्दै कसैले एमाले विरुद्ध गतिविधि गरे नछोड्ने बताए ।
पार्टीका सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गरे । प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईले अभियानले संविधान संशोधन प्रस्ताव अनुचित छ र भावनात्मक राष्ट्रिय एकता सिर्जना गर्ने जनाए । अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्नेछ । अभियानका लागि एमालेले १० हजारभन्दा बढी स्वयम् सेवक परिचालन गरेको छ । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् ।