कुनैबेला राजनीतिक चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” अहिले असफल नेताको रुपमा रुपान्तरित भएका छन् । माओवादी जनयुद्धकालमा कमाएको उनको लोकप्रीयता अहिले समाप्त भएको छ । मुलुकको प्रभावशाली नेता भएर पनि सफल नेता बन्न नसकेकै कारण उनको राजनीति पतनको मार्गमा लागेको विश्लेषण गर्न थालिएको छ । प्रभावशाली र चर्चित नेता भएर पनि कहिल्यै सम्मानित हुन नसकेको कारण पनि उनको राजनीति तरबारको धारमा परेको छ ।
१० बर्षे जनयुद्धकालमा प्रचण्डलाई जुन रुपमा हेरिन्थ्यो त्यो रुपमा उनले आफुलाई कहिल्यै प्रस्तुत गर्न सकेनन् । जनआन्दोलन ०६२÷०६३ पछि नेकपा माओवादी शान्तिपुर्ण राजनीतिमा अवतरण हुँदा सिंगो राजनीति उनको वरिपरी घुम्ने गर्दथ्यो । जुनसुकै समय प्रचण्डले के भन्छन् ? भन्ने उत्सुकता पैदा हुने गर्दथ्यो । नेपालको राजनीतिमा मात्र नभएर अन्तर्राष्ट्रिय राजनीतिमा समेत चर्चा कमाएका नेताले आफ्नो शाखलाई आफंैले जोगाउन नसक्दा उनको राजनीतिमा संकट पैदा भएको छ । जसका कारण अन्तर्राष्ट्रिय, राष्ट्रिय र आफ्नै पार्टीको आन्तरिक जीवनमा पनि उनी क्रमशः असफल भइरहेका छन् । जसका बारेमा उनी स्वंयले पनि आत्मसमीक्षा गरेको हुनुपर्छ । पहिलो संविधानसभाको निर्वाचनमा उदयमान राजनीतिक दलको रुपमा तत्कालिन एकीकृत नेकपा माओवादी स्थापीत भएपछि प्रचण्डबाट आमनेपाली जनताले धेरै अपेक्षा राखेका थिए । तर, उनले जनताको अपेक्षा पुरा गर्नभन्दा आफ्नो राजनीतिक स्वार्थ पुरा गराउन राजनीति गरेका कारण जनताको विश्वास प्रचण्डमाथि लामो समयसम्म रहेन । राजनीतिमा उचाई बनेका नेताले आफ्नो उचाइको ख्याल नगरी मनोमानी ढंगले राजनीति चलाउने, अनावश्यक रुपमा नेपाली सेनालाई चलाउने प्रयास गर्नु, अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध कायम गर्न नसक्नु, राजनीतिमा सन्तुलन कायम गराएर अगाडि बढाउन नसक्नु, पार्टीमा सफल नेतृत्व दिन नसक्नु, अन्य राजनीतिक दलहरुलाई महत्व नदिनुजस्ता कयाँै कारणले गर्दा उनी असफलताको बाटोमा लागेका थिए ।
पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठुलो राजनीतिक दल भएर पनि संविधान निर्माणमा प्रभावकारी भुमिका खेल्न नसक्नु उनको असफलताको कारण बन्न पुग्यो । साथै तत्कालीन समयमा संविधान जारी गराउनका लागि उनले राखेका कुनै पनि प्रस्तावमा अन्य दलको सहमति प्राप्त नभएकाले पनि असफल बन्दै गए । त्यतिबेला उनले सहमतिमा भन्दा पनि आफ्नो अडानमा संविधान बनाउने हर्कत गरेकाले राजनीतिमा असफल भएको उनकै सहयोगीहरु बारम्बार भन्ने गरेका थिए । उनको बोलीले समेत उनलाई असफल बनाउन सहयोग ग¥यो । नेपालको राजनीति र माओवादीको योजनामा मेल खान नसकेको कारण पनि प्रचण्डको राजनीति सफल हन नसकेको प्रष्ट देखियो ।
जनयुद्धमा जसरी माओवादीले सफलता पायो त्यसरी नै उसले शान्तिपुर्ण राजनीतिमा सफलता पाउन सकिन्छ भनेर आफ्नो मनोमानी ढंगले राज्य सञ्चालन गर्ने प्रयास गरे त्यो नै प्रचण्डको असफलताको कडी बन्न पुग्यो । १० बर्षे हिंसात्मक युद्धको पृष्ठभुमिबाट आएको माओवादीको योजना थियो– सहरी विद्रोह गर्ने र सत्ता कब्जा गरी कम्युनिष्ट शासन चलाउने । तर, शान्ति प्रक्रियामा आएको पाँच बर्षभित्रैमा उनले आफ्नो डकुमेन्टमा आफैले ओकले । उनले सचेत प्रयत्नका बाबजुद पनि जनविद्रोह सफल हुन सकेन भन्ने प्रतिवेदन पार्टीको केन्द्रीय समितिमा पेस गरेपछि उनको राजनीति समाप्तको मार्गमा अगाडि बढ्यो । यसकै कारण पार्टीमा व्यापक असन्तुष्टि पैदा भयो र पार्टी विभाजनको श्रृङ्खला सुरु भयो । आज त्यसकै कारण पनि प्रचण्डको आकार खुम्चिन पुगेको छ ।
प्रचण्डको पतनको सुरुवात
पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा स्थापित भएको माओवादीले सरकार चलाउने जिम्मेवारी पायो । सरकारको नेतृत्व प्रचण्ड स्वयंले गरे । सरकारको नेतृत्व गर्नासाथ राज्यमै विजय प्राप्त भएको अनुभव गरेर उनले जुन कार्यशैली देखाए त्यसले उनलाई कहिल्यै उठ्न नसक्ने गरी बसाइदियो । प्रचण्ड प्रधानमन्त्री हुनासाथ प्रधान सेनापतिलाई वर्खास्त गर्ने निर्णय त गरे तर त्यो यति अफापसिद्ध भईदियो कि सोही कारण उनले उनको पदबाट राजीनामा नै दिनुप¥यो । त्यसपछि पनि प्रधानमन्त्री बन्ने उनको धेरै प्रयास सफल हुन सकेन । आठ–आठपटक प्रतिस्पर्धामा उभिँदा पनि विश्वासको मत लिन नसकेपछि उनी सो दौडबाट बाहिरिन बाध्य भए र एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन लागिपरे । तर, आफैंैले बनाएको खनाल सरकार ६ महिना पनि टिकाउन भने उनले सकेनन् जसका कारण उनको राजनीति कमजोर भएको प्रमाणित भयो ।
आफुसँग ३५ हजार माओवादी लडाकु रहेको दाबी गर्दै आएका प्रचण्डले सबैलाई नेपाली सेनासँग समायोजन गर्ने खोक्रो आश्वासन बाँडे । तर, अनमिनको प्रमाणीकरणले त्यो संख्या १९ हजारमा सीमित गरिदियो । त्यसले पनि उनलाई असफल बनाउन सहयोग ग¥यो । प्रचण्डले ३५ हजार लडाकुलाई नेपाली सेनामा प्रवेश गराएर आफ्नो राजनीतिक कार्यक्रम प्रभावित बनाउने प्रयास गरेको भएपनि अन्त्यमा ६ हजार ५ सय लडाकुलाई समायोजन गराउने सहमतिमा गरे । तैपनि प्रचण्डले गरेको सो सहमतिलाई स्वीकार गर्दै जम्मा १५ सयले मात्र साथ दिए । बाँकी १७ हजार ५ सय समायोजनमा जाने इच्छा देखाइदिएनन् । यो अर्काे झट्का उनीमाथि प¥यो र राजनीतिमा उनको असफलता बढ्दै गयो । शान्तिप्रक्रियाको लामोसम्म लडाकु देखाएर बार्गेनिङ्ग गरेको आरोप लागेका प्रचण्डले न लडाकुको विश्वास जित्न सके न त माओवादी इत्तर दलको नै ।
माओवादी युद्धकालमा १३ हजारभन्दा बढी नेपालीको ज्यान गएको थियो भने पार्टीका कैयौं नेता तथा कार्यकर्तालाई सुरक्षाकर्मीले हत्या गरेको कुरा पार्टी पंक्तिमा व्यापक उठ्ने गरेको थियो । आफ्ना नेता कार्यकर्ताको हत्योको अभियोगमा सुरक्षाकर्मीमाथि कार्बाही हुनुपर्ने माग कार्यकर्ताले गरिरहेको अवस्थामा आफैंले सरकारको नेतृत्व गरिरहेको बेला तत्कानीन भैरवनाथ गणका प्रमुख राजु बस्नेतलाई बढुवा गर्न पुगेपछि प्रचण्डको हाइट ह्वात्तै घटेको थियो । सो बढुवाको विरोधमा प्रधानमन्त्री कार्यालयमा धर्ना लिनेलाई बेपत्ता परिवार तथा पीडितलाई उल्टो डन्डा लगाउन सुरु गरेको छ । पीडितका मागलाई सम्बोधन गर्न त परै जाओस्, उल्टै उनीहरुको घाउमा नुनचुक हाल्न सरकार उद्यत देखिँदा पनि उनले केही गर्न सकेनन् । जसका कारण उनी असफल बन्न पुगे ।
अर्काेतर्फ आफ्नो युद्धलाई सफल पार्न प्रचण्डले जातीय राज्यको नारालाई राम्रैसँग उपयोग गरेका थिए । उनले हरेक समुदायको मन जित्न र आफ्नो युद्धलाई सफल बनाउन प्रत्येक जातिको छुट्टै राज्य स्थापना गराउने खोक्रो आश्वासन बाँडे । संविधान बन्ने क्रममा उनको त्यो आश्वासन संविधान निर्माणको बाधक बन्यो । उनले कैयाँै पटक आफ्नो माग अन्य दल समक्ष प्रस्तुत गरे पनि त्यसलाई आमनेपाली जनताले अस्विकार गर्ने निश्चित भए पनि अन्य दलले समर्थन जनाउन मानेनन् । जसले गर्दा जातीय राज्य कुनै देशको कथा जस्तो भयो र त्यसले प्रचण्डलाई असफल बनाउन धेरै मद्दत पु¥यायो । त्यसैगरी उनलाई अकुत सम्पत्ति कमाएको आरोप पार्टी भित्रै पनि खेप्दै आएका छन् । यो पनि पतनको अर्काे कारण हो ।
प्रचण्डको असफल नेतृत्वका कारण पार्टी विभाजन भयो र बाँकी रहेको माओवादी पनि फुटेको घैला जोडे जस्तो भएको छ । आठ बर्ष अगाडि राष्ट्रको शक्तिशाली पार्टीको रुपमा स्थापित भएको माओवादी पतनको संघार मा पुगेको छ । अबको निर्वाचनमा माओवादीको साइज नसोचेको स्थान पुग्ने निश्चित छ । पार्टी विभाजनको सिकार बनेको छ । प्रचण्डको असफल नेतृत्वका कारण पार्टी पाँच टुक्रा बनेको छ । टुक्रिएर गएको समुह वेबसाइजको भए पनि प्रचण्डले नेतृत्व गरेको पार्टी सानो साइजमा छ । यो कति समयसम्म बस्छ भन्ने कनै ग्यारेन्टी छैन ।