समाज एउटा यस्तो सञ्जाल हो, जहाँ माया, स्नेह, सुख, मेलमिलाप सँगसँगै दुःख, संकट, विवाद, भेद्भाव जस्ता कुराहरु पनि छन् । समाज देख्दा जति सुलभ देखिन्छ त्यति नै जकडिएको छ अनेकाँै साना समस्याहरुले । ठुला ठुला समस्यादेखि घरायसी स–साना समस्याहरु पनि यस समाजमा देख्न सकिन्छ । यस्तै समस्याहरुबीच निकै नै संवेदनशील समस्याका रुपमा लिन सकिन्छ पुस्ता पुस्ताबीचको दुरी अर्थात जनेरेशन ग्याप ।
पुस्ता पुस्ताबीचको दुरी भन्नाले दुई पिँडी अघिल्लो पिँडी र पछिल्लो पिँडीबीच बिभिन्न कारणहरु जस्तै उनीहरुले पाएको शिक्षा, हुर्किएको सामाजिक परिबेश, परिस्थिति, रहनसहन, लालनपालन आदिले गर्दा उनीहरुबीच हुने भावनात्मक दुरी भन्ने बुझिन्छ । सामान्य अर्थमा भन्दा जेनेरेशन ग्याप भनेको दुई पुस्ताबीच हुने भावनात्मक दुरी हो जसले गर्दा दुई पुस्ताबीच आपसी सद्भाव र सम्मान कम हुन्छ र यो दुरी बढ्दै जान्छ । किशोरकिशोरी र अभिभावकको बीचमा यो दुरी धेरै भएको पाइन्छ ।
नयाँ पिँडी किशोरकिशोरी, युवाँपिडी र अभिभावकहरुको आ–आफ्नै धारणा, सामाजिक मुल्य मान्यता, सोचविचार हुन्छ , जुन उनीहरुको शैक्षिक स्तर, आधुनिकीकरणको प्रभाव, खुलापन र विभिन्न परिस्थितीमा आधारित हुन्छ । हरेक पुस्ताको समयानुसार जीवनशैली र मुल्यमान्यताहरु फरक फरक हुन्छ । यी मुल्य मान्यतामा भएको भिन्नता पनि दुई पिँडीबीच भावनात्मक दुरी भएको पाइन्छ ।
नयाँ प्रविधि र विकासले गर्दा आज यो विश्व नै साँघुरिएको छ । जसले गर्दा विश्वका कुनै पनि कुनामा भएको प्रविधी सबैले अपनाउन सक्छन् । यस्तै प्रविधिको छिटो विकासले पनि पुस्ता पुस्ताबीचको दुरी बढाएको छ । पहिलेको सन्दर्भमा भन्नुपर्दा दुई तीन पुस्ताको जीवनशैली लगभग उस्तै किसिमको हुन्थ्यो भने आज यस्तो छैन । दिनप्रतिदिन जीवनशैली फरकफरक हुँदै जान्छ र नयाँ पिँडीले त्यसलाई अपनाउँदै गएका छन् जसको कारण अघिल्लो पिँडी र पछिल्ला पिँडीबीच फरक पाइएको छ ।
पुस्ता पुस्ताबीचको दुरी हुनुमा विभिन्न कारणहरु हुन्छन् । जस्तै उमेरको अन्तर, शिक्षाको स्तर, हुर्किएको परिवेश, शारिरीक तत्व आदि । तर, यस दुरी तब झन् बढ्छ जब दुई पुस्ताले एकअर्कालाई बुझ्दैनन् र बुझ्ने कोसिस पनि गर्दैनन् । जस्तै कि अघिल्लो पुस्ता अर्थात अभिभावकले किशोरकिशोरी अवस्थामा रहेका आफ्ना छोराछोरीलाई आफ्नो निर्णयअनुसार चलाउन खोज्ने, उनीहरुको इच्छा, चाहना नबुझिदिने उनीहरुलाई गैरजिम्मेवारीको संज्ञा दिने, उनीहरुको काम तथा निर्णयलाई सम्मान नगरिदिने गर्नाले पनि यो दुरी झन बढ्दै जान्छ । कतिपय अवस्थामा त हामीले यो पनि देख्न सक्छाँै कि छोराछोरीको उद्देश्य एउटा हुन्छ भने अभिभावकले जबर्जस्ती तिमिले यो पढ्नु पर्छ, यो नै गर्नुपर्छ भनेर आफ्नो निर्णय थोपरेको हुन्छन् । यसैगरी अर्काेतर्फ के पनि पाइएको छ भने नयाँ पिँडीले आफ्नो अघिल्लो पुस्तालाई पुराना विचारधाराका व्यक्ति भन्ने सोच बनाई उनीहरुको आदर सत्कार कम गर्ने, उनीहरुको भावनाको कदर नगर्ने, सम्मान नगर्नाले पनि यी दुई पुस्ताबीचको दुरी झन् बढ्दै जान्छ ।
तसर्थ यी दुई पुस्ताबीचको दुरी कम गर्न दुवै पक्षको ठुलो भुमिका हुन्छ । अभिभावकले पनि छोराछोरीको कुरा सुनिदिने, उनीहरुको भावनाको कदर गर्ने, आफ्नो निर्णय आफँै गर्न सहयोग गर्ने, घरायसी मामलामा उनीहरुको सुझाव मागी घरप्रति जिम्मेवारी वहन गर्न सिकाउने र उसको महत्व देखाउने, साथीभाई जस्तो व्यवहार देखाउने जसले गर्दा उनीहरु आफ्नो जस्तोसुकै समस्या पनि अभिभावकसँग राख्न नहिच्किचाउन् । यसैगरी किशोरकिशोरीले पनि अभिभावकको आदर गर्ने, राम्रो व्यवहार देखाउनृ, कुनै पनि महत्वपुर्ण निर्णय लिनु अगाडी अभिभावकको राय, सुझाव लिने, अभिभावकको निर्णय राम्रो र आफु सुँहाउदो भएमा मान्ने र यदि अभिभावकले आफ्नै कुनै राम्रो कुरा पनि बुझिदिएनन् भने त्यसलाई सकारात्मक तवरले बुझाउने प्रयास गर्ने जसले गर्दा दुई पिँडी बीचको दुरी कम हुन्छ ।
समाजमा विद्यमान विभिन्न नकारात्मक पक्षहरु जस्तै लागुऔषध दुव्र्यसनी, चोरी, बलात्कार जस्ता कुराहरुको पछाडी पनि कतिपय अवस्थामा पुस्ता पुस्ताबीचको दुरी पनि कारण बनेको पाइएको छ । तसर्थ हेर्दा सानो जस्तो लागे पनि पुस्ता पुस्ताबीचको दुरी समाजको ठुलै समस्याको जड हुन सक्छ । त्यसैले यो दुरीलाई कम गर्न अभिभावक बर्ग किशोरकिशोरी दुवै लाग्नुपर्छ । अभिभावकले पनि आफ्नो पालाको कुरा मात्र लाद्न खोज्नेभन्दा नयाँ प्रविधिसँग आफुलाई ढाल्दै लगी नयाँ प्रविधि अपनाई आफ्ना छोरीछोरीलाई सहयोग गर्ने र यसैगरी नयाँ पुस्ताले पनि आफ्नो अभिभावकको आदर सत्कार गरी उनीहरुको अनुभव र देनको कदर गर्ने, उनीहरुको निर्णयको मान राख्ने गरेको खण्डमा यो दुरी कम गर्न सकिन्छ । तसर्थ पुस्ता पुस्ताबीचको दुरी कम गर्न दुवै पिँडी अगाडी बढेमा यसबाट उब्जने सामाजिक समस्याबाट समाजले छुट्कारा पाउन सक्छ ।