बामपन्थी र उग्रवामपन्थी बीचको भेद समयमै छर्लङ्ग पार्न नसक्दा नेपालको राजनीति धमिलिएको छ । एमाओवादीले पाएको जनादेश छुचुण्डोको टाउकोमा चमेलीको तेल साबित भयो । जनताले माओवादीलाई सुध्रियोस भनेर पेश्की समर्थन दिएका थिए तर माओवादीले आफ्नो कालो विगतलाई अभिनन्दन गरेको ठान्यो । मुलधारमा आइसक्दा पनि माओवादी नसुध्रिनुमा दोषी एमाले छ । मदन भण्डारीको अवशानपछि एमालेमा विचार राजनीतिका पारखीहरु रक्षात्मक हन र विचार विरोधी एवम् ढुलमले अवसरावादीहरुको साँठगाँठ जब्बर हुँदै जानुको फाइदा उग्रबामपन्थीहरुले उठाए । निरंकुश राजतन्त्र, परिचालित सेना, कांग्रेसको सर्वसत्तावाद, माओवादीको महत्वकांक्षा र बाह्य हस्तक्षेपजस्ता चुनौतीहरुको सामना गर्न एमालेले जुन ढंगको प्रखर विचार राजनीति पस्कन सक्नुपथ्र्याे तत्कालिन समयमा त्यसमा चुक्यो । जनताको बहुदलिय जनवादलाई भौतिक शक्तिमा बदल्न एमालेको आन्तरिक एकता अनिवार्य शर्त थियो । एकताबद्ध एमालेले मात्र राजनीति र जनतालाई एकताको सुत्रमा बाँधिराख्न सक्ने थियो । गुटफुट र तुषसहितको एकता एमालेको निम्ती निकै महंगो सावित भयो । कार्यकर्ता प्रशिक्षण, जनपरिचालन, युवापुस्तामा विचार हस्तान्तरण जस्ता कामहरु ओझेलमा प¥यो । यसले गर्दा विचारविरोधी र ढुलमुले अवसरवाली तत्वहरुले भातको लडाई तर जिते तर एमालेको थाप्लोमा भविष्य हार्न सक्ने संकट थोपरे । नेताप्रतिको वितृष्णाको मारमा जनताको बहुदलिय जनवाद प¥यो । नेकपा एमालेको विकल्प एकीकृत नेकपा माओवादी हुन सक्छ भन्ने भ्रमले काम पायो ।
सच्चा बामपन्थी र उग्रवामपन्थीको राजनीतिक रसायनमा आकास–जमिनको अन्तर हुन्छ । नर र बाँनरमा जतिको अन्तर हुन्छ । सक्कली बामपन्थी र उग्रवामपन्थी को बीचमा त्यत्तिकै फरक देखिन्छ । एमाले महादेब जस्तो हो भने एमाओवादी जालन्धर जस्तो हो । जालन्धरको अनुहार महादेबको जस्तो आचरण ठीक उल्टो भए जस्तै एमाओवादी पनि बामपन्थीकोे बदनाम गर्न रचिएको मानसपुत्र हो । यहि सच्चाईलाई राजनीतिका पारखीहरु अर्जनुु झँै चक्रव्यूह भेदन गर्नुपर्नेमा अभिमन्युझँै हराइरहेका छन् । मुलतः एमाले शान्ति, आमुल परिवर्तन र जनजीविकासहितको लोकतन्त्रका निम्ती बलिदानीपुर्ण संधर्षको आरनबाट खारिएको पार्टी हो । रचनात्मक सोच र नबांगिएको नियतका कारण उसका प्रतिबद्धतामा शंका गर्ने र सिद्धान्तमा खोट लगाउने ठाउँ विरोधीहरु पनि भेटाएका छैनन् । एमाओवादी भने अवसरवादले ग्रस्त भई चौबाटोमा उभिएको छ र अन्धाले झँै चारैतिर बराबर देखिरहेको छ । एमाओवादी नेताहरुको लागि अराजकता, अनिश्चितता, अस्थिरता र अभिनय कल्पबृक्ष हो । राष्ट्रियताको ढोल पिटाई देखि मर्दबादी दर्शनको वकालत सम्म, गाउँबस्तीमा सुरुङहरुको खोदानदेखी एसडी मनीको चरण चुम्बन सम्म, कुटनीतिज्ञ माथि जुत्ता प्रहार देखि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राख्ने प्रयाससम्म, उद्यमीमाथिको आक्रमणदेखी सीमा विवादको जनमत संग्रहद्वारा समाधानसम्मका युटर्न मोडाइले माओवादीको दोहोरो चरित्र सर्वाङ्ग भएको छ । यसरी राष्ट्रबादी महानायकको दाबी गर्ने एमाओवादी नेताहरु त प्रभुका मुख लाग्ने नोकरमात्र रहेको सत्य सतहमा आएको छ । उग्रवामपन्थी र सक्कली कम्युनिष्टको सारमा रहेको अन्तर एमाले र एमाओवादीका आधिकारिक दस्तावेजहरुको तुलनात्मक अध्ययन गर्दा प्रष्ट हन्छ । यी दुई पार्टीका विचार, कार्यक्रम, रणनीति, कार्यनीति, कार्यशैली, आचरण, आगत र विगतसमेतको अध्ययन यसप्रकार छ ।
नेकपा एमाले एकीकृत नेकपा माओवादी का दस्तावेजहरुको तुलनात्मक अध्ययन गर्ने जोकोही पनि बहुलबाद, लोकतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तमा एमालेको झुकाव र एमाओवादीको तिरस्कार सजिलै अनुमान गर्न सक्छन् । लोकतन्त्र र प्रतिस्पर्धाको राजनीतिका आधारभुत कुरामा प्रतिबद्ध नभएको पार्टीलाई जनताबाट नाङ्गेझार पार्ने पहल र सक्रियताको आपुर्ति नगर्नु भनेको लोकतन्त्र र आमजनसमुदायका लागि एक अँध्यारो गुफातिरको यात्रा हो । मानव अधिकारको रक्षा, आवधिक निर्वाचन, संविधानको सर्वाेच्चता, विधिको शासन, वैधानिक प्रतिपक्ष र शान्तिप्रति एमाओवादीका दस्तावेजहरु मौन छन् । एक लोकतन्त्रवादी दलमा हुनुपर्ने मुल्य र मान्यता नभएकाले आफुलाई वामपन्थी बताएकै भरमा एमाओवादीलाई एमाले जस्तो ठाननु हात्तीको सुँडसँग आकार मिल्दोजुल्दो भएकै भरमा गड्यौलालाई हात्ती भन्नु जस्तै हास्याँस्पद कुरा हो ।
एमाले जनताको जनवादी अधिनायकत्व चाहन्छ, तर एमाओवादी आफ्नो पार्टीको नोकरशाहीतन्त्रको जाँतोमा जनसमुदायलाई पिस्न उद्दत छ । बहुलबादको सट्टामा अधिनायकवाद, खुल्ला होइन बन्द समाज, स्वतन्त्र होइन नियन्त्रण, लोकतन्त्रको विकल्पमा उग्रवामपन्थी हैकमवाद, शक्ति पृथकीकरणको सिद्धान्तको विकल्पमा एक नेतामा शक्तिको अति केन्द्रीकरणको पक्षमा एनेकपा(माओवादी) छ । मानव अधिकार अरुले उल्लघंन गर्दा मानव अधिकारलाई हतियारको रुपमा उपयोग गर्ने र आफुले उल्लघंन गर्दा मुलाको मुरलीझैँ बजे बजाउने नत्र चपाउने उसको दोधारे चरित्र छ । माओवादी राजनीतिक भाषामा बाघ र भालु भन्दा पनि खतरनाक रहेको छ । संविधानको सर्वाेच्चता सट्टामा स्वेच्छाचारिता, विधिको होइन पार्टीको शासन, आवधिक निर्वाचनको विकल्पमा सत्ता कब्जा जस्तो हर्कतलाई त्याग्न नसक्ने पार्टीसँग बहसमा उत्रिनको कुनै औचित्य छैन । शान्तिमा होइन हिंसामा आफ्नो भविष्य देख्नु, बैधानिक प्रतिपक्षको अस्तित्व स्वीकार नगर्नु एमाओवादीको असहिष्णु चरित्रका परिचायक हुन् । नेकपा एमालेले सामाजिक न्याय, सामाजिक सद्भाव, क्षेत्रीय सन्तुलन, भाइचारा, कार्यगत एकता, लचकता र प्रतिस्पर्धाको झण्डालाई निर्भिकतापुर्वक फहराइरहेको छ । एमाले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको नायक हो । खुला समाज, सामाजिक न्याय, राजनितिक स्वतन्त्रता, संयुक्त जनआन्दोलन, दिगो विकास र निकासका पक्षमा एमाले दृढताका साथ उभिएको छ । एमाओवादी सामाजिक फाँसीवाद, निषेध, भेदनीति, अनाचर र संकीर्णताविना आफुलाई ओभानोमा परेको माछो जस्तै असुरक्षित ठान्छ । दीर्घकालिन जनयुद्ध, एकल नेतृत्व, पार्टीको सैनिकीकरण र सस्तो लोकप्रीयताको पछि दौडिदैँ उ जातीय विद्वेषको आधारभुमि खडा गर्दै गएको छ र क्षेत्रीय सन्तुलनको विकल्पमा क्षेत्रीय असन्तुलनमा रमाउँदै छ । एमाले मुलुकको महासेनानी हो भने एमाओवादी घरभित्रै रहेर चोरको लागि आग्लो खोलिदिने भुमिका खेलिरहेको छ । भाइचारा र सदाचारको सट्टामा बैमनश्यता र अनाचार, सहकार्यको विकल्पमा उपयोगितालाई अंिकार गरेर एमाओवादीले “विनाश काले विपरीत बुद्धि” देखाएको छ ।
एमाओवादीको शब्दकोषमा लचकता पाँइदैन तर संकीर्णता उसको नशानशामा बगिरहेको छ । एमाओवादी प्रतिस्पर्धामा आफनो भविष्य देखिरहेको छैन । तसर्थ सत्ताकब्जा उसको गायत्री मन्त्र बनेको छ । राष्ट्र, जनता र देशको कुशल अगुवाई गर्ने लक्षण उसमा देखिएन । यसका लागि पहलकदमी एमाओवादी नेताहरु कहिल्यै गरेनन् बरु छलछामलाई उनीहरुले प्राणवायु बनाउँदै आए । राजनीतिमा युवाहरुलाई आकर्षित गर्न र जनसमुदायको मन जित्न तर्कलाई माध्यम बनाउन उनीहरु तयार छैनन् । उत्प्रेरणा होइन बलजफती, फरक मतको सम्मान होइन परनिन्दा, एकताका लागि इमान्दारिता होइन भेदनीति, शक्तिको स्रोत जनता होइन उग्रवामपन्थी गिरोहको नाइकेलाई मान्ने भ्रान्तपुर्ण मान्यतामा विश्वास गरेकाले एनेकपा(माओवादी) कम्युनिष्ट निरकुंशता र समाजवादी राजतन्त्रको पक्षधर हो । उ अझै पनि एमाले जस्तो जनआधारित कार्यकर्ताको पार्टी बनेको छैन । आफ्नोसेना राष्ट्रिय सेनामा रहेकाले सेना विना कम्युनिष्ट पार्टी हुँदैन भन्ने भ्रमले ग्रस्त छ । एमाले राजनीतिमा निष्ठा विनयलाई स्थान दिन्छ तर प्रचण्डको प्राथमिकता सस्तो लोकप्रीयता परेको छ र पद प्रतिष्ठा र अभिनय कला नै अभिष्ट रहेको छ । एमालेलाई संवेदनशील मुद्दामा खेल्नु छैन किनकी ढाँटको राजनीति बहुदलिय जनवादी संहिताभित्र पर्दैन । संवेदनशिल मुद्दा उछालनमा एमाओवादी नेताहरु ठेक्का पाएका छन् । राष्ट्रको सामुहिक जीवनमा आइपर्ने गाह्रा–अप्ठ्याराहरुमा एमाओवादी आफ्नो शक्ति आर्जनको सुन्दर अवसर देख्छ । यस हिसावले एमाओवादी नेताहरु जुझारु नभई चोरीमार हान्नेगोरु जस्ता रहेका छन् ।