काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमणको नियन्त्रण गर्न आजदेखि थप ७ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
थप सात जिल्लासहित गृह मन्त्रालयको विवरणमा ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार आज नुवाकोट, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नवलपरासीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
यससँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो । महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू हुँदैछ ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार ९ जिल्लामा आंशिक र ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।
गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो । हाल ३३ जिल्लामा कोरोना संक्रमणको अवस्था बढ्दो रुपमा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
हेर्नुहोस् निशेधाज्ञा जारी भएका जिल्लाहरु

























