काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले ओली र लेखकलाई परिवारको जिम्मा लगाएर छाडेको हो।
सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी ओली र लेखकलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए। हिरासतमुक्त भएपनि ओली केही समय अस्पतालमै रहनेछन्।
भदौ २३/२४ गते जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवैजनालाई प्रहरीले चैत्र १४ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तेस्रो पटक म्याद थपेको थियो। म्याद सकिएसँगै प्रहरीले दुवैजनालाई बिहीबार हिरासत मुक्त गरेको हो।
पक्राउ पछि ओली उपचारका लागि अस्पतालमा र लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा राखिएको थियो।
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले चैत्र २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा भए हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको सोही आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थप भएको म्याद बुधबार सकिएको हो।



















