काठमाडौं । नेकपा एमालेका महिला सांसदहरूले पछिल्लो समय किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल र केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदले साइबर ब्युरो पुगेर लिखित उजुरी दर्ता गराएका हुन्।
उजुरीमा सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत विशेषगरी किशोरीहरू साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक व्यवहार तथा घृणात्मक टिप्पणीको सिकार भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले उनीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर पारिरहेको जनाइएको छ।
सांसदहरूले यस्ता घटनामाथि छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न तथा पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेका छन्।



















