काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका १२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।
अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा काम गर्न बाध्य पारिएका तथा बिना भिसा बसिरहेका ती नेपालीहरूलाई उद्धार गरी आज नेपाल ल्याइएको हो।
बैंककस्थित नेपाली राजदूतावास को पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार कार्य सम्पन्न भएको हो। साथै गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरू स्वदेश फर्किएका हुन्।
राजदूतावासका अनुसार अझै पनि अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई उद्धार गर्ने प्रक्रिया जारी छ। कम्बोडियामा नेपालीहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको तथा भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाइएको छ।
यस्तै अवस्थामा रहेका नेपालीहरूलाई स्वदेश फर्कन सहजीकरणका लागि राजदूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ। स्क्यामिङ केन्द्रमा काम गर्ने क्रममा धेरैको राहदानी कम्पनीले जफत गर्ने वा हराउने गुनासोसमेत आएको छ।
त्यस्तो अवस्थामा बैंककस्थित नेपाली राजदूतावास ले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेर उद्धार गर्ने व्यवस्था गरेको जनाएको छ।
नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने लोभमा लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशमा भ्रमणको बहानामा नजान पनि राजदूतावासले आग्रह गरेको छ।




















