महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् ।
विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुुञ्जिरहेका छन् ।
“श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले भने, “यसकारण पनि रामनवमी मिथिलाको विशिष्ट पर्व हो ।”
मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्ड पाठ भइरहेको छ । श्रद्धालुहरू व्रत पनि बसेका छन् । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष महत्वको मानिने महन्थ वैष्णवले बताए ।
मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रको परिभ्रमणसम्बन्धी कथाहरूले पनि यस पर्वलाई यहाँ विशेष बनाएको उनको कथन छ । (रासस)


















