काठमाडौं । दिनभर उचारचढावमा रहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको थियो।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। यसदिन ३४३ वटा स्क्रिप्सको ३ करोड ४ लाख ३८हजार ३१५ रुपैयाँमा खरिदबिक्री भए। बुधबारको सेयर बजारमा १५ अर्ब ९ करोडको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये १७८ वटा स्टक्सको मूल्य बढ्दा ८० वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
यसदिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,सुपर खुदी हाइड्रोपावर,होटल फोरेस्ट,सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो बैंकको ९४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। एस वाइ प्यानल नेपालले ७१ करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले ४६ करोड,रिडी पावरले ४५ करोड र नगदी ग्रुप पावरले ४१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
यसदिन हाइड्रोपावर र मनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक बढे। हाइड्रो पावरको १.५६ प्रतिशतले बढ्दा मनु एण्ड प्रो समूहको उपसूचक १.५० प्रतिशतले बढ्यो।




















