काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वाभाविक, अपत्यारिलो र ‘जादुमय’ रहेको टिप्पणी गरेका छन्।
पार्टी मुख्यालय च्यासलमा सांसदहरूसँग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेविरुद्ध केन्द्रित रूपमा प्रहार भएको दाबी गरे। उनले आफ्नो पार्टी सानो आकारमा देखिएको भन्दै चिन्तित नहुन पनि सांसदहरूलाई सुझाव दिएका छन् ।
ओलीले रास्वपातर्फ संकेत गर्दै उक्त शक्तिलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको टिप्पणी गरे। साथै, एमालेविरुद्ध असभ्य, अश्लील गालीगलौज र कुप्रचार गरिएको उनको आरोप छ। उनले सामाजिक सञ्जालमा पार्टीपंक्तिले प्रभावकारी रूपमा प्रतिवाद गर्न नसकेको गुनासो समेत गरे।
उनले भने, “निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। यो परिणाम अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ। हाम्रो विरुद्ध सम्पूर्ण प्रहार केन्द्रित गरियो। हामीले सभ्य शैली अपनाउँदा त्यसको उचित प्रतिवाद गर्न सकेनौं।”
ओलीले महाभारतको प्रसंग उल्लेख गर्दै कौरव र पाण्डवबीचको युद्धको उदाहरण दिए। “कौरवको सेना ठूलो थियो, पाण्डवको सानो। तर अन्ततः सत्यकै विजय भयो,” उनले भने, “हामी राष्ट्रिय गौरवको झण्डा उचो राख्ने अभियानमा लागेका छौं।”



















