काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार उडान भरेको केही समयमै विमान देशको दक्षिणी क्षेत्रमा दुर्घटनामा परेको हो। वीवीसीका अनुसार दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन्।
वायुसेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा ११४ सैनिक र ११ चालक दलका सदस्य सवार रहेको जानकारी दिएका छन्।
दुर्घटनामा परेको विमान अमेरिकी निर्माणको सी–१३० हरक्युलस हो, जुन मुख्यतः सैनिक ढुवानीका लागि प्रयोग हुँदै आएको थियो।
विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनास्थलमा पुगेका उद्धारकर्मीहरू भग्नावशेषमा जीवितको खोजी तथा उद्धारमा जुटिरहेका छन्।
कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले उक्त दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना बताएका छन्। उनका अनुसार पेरूको सीमाक्षेत्र नजिक भएको यस दुर्घटनामा विमानमा आगलागी भएपछि राखिएका गोला–बारूद विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।




















