काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुने छ । उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो विषयमा कांग्रेसले निर्णय लिनेछ ।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले पहिलो पटक गर्दैछन् ।
उपसभापति पुष्पा भुसालका अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा हुने छ । निर्वाचनको विषयमा गहन समीक्षा हुने बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
कांग्रेस बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।




















