काठमाडौँ । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग पार्टी महासचिव शंकर पोखरेलले भर्चुअल बैठक गरेका छन्।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो निर्वाचन परिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ राजनीतिक शक्ति उदाएको टिप्पणी गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको आरोप लगाउँदै त्यस्ता शक्तिहरूसँग राष्ट्र, राष्ट्रियता र दीर्घकालीन राजनीतिक दृष्टिकोणबारे स्पष्ट विचार नभएको टिप्पणी गरेका छन् ।
पोखरेलका अनुसार यस्ता शक्तिहरूले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने भए पनि व्यवहारमा अपेक्षित नतिजा दिन नसक्ने अवस्था आउनेछ ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेविरुद्ध ‘नयाँ र पुरानो अनुहार’ भन्ने नारामा आधारित प्रचार गर्दै जनतालाई भ्रमित पारिएको दाबी गरेका छन् ।
महासचिव पोखरेलले निर्वाचनको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट पार्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको पनि बताए।
उनले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताएका छन्।
अल्पकालीन लोकप्रियताका आधारमा अघि बढेका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनता स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास पनि पोखरेलले व्यक्त गरेका छन् ।




















