काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। तर खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
अमेरिका–इजरायल–इरानबीच बढेको तनाव र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै बढेर आए पनि नेपालमा पूर्ण रूपमा लागू नगरी आंशिक मात्र वृद्धि गरिएको हो। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ महँगो भएर आए पनि उपभोक्तामाथि थप भार नपरोस् भनेर मूल्य नबढाइएको निगमको भनाइ छ।
निगमले जनाएको अनुसार अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्दा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल प्रतिलिटर ५४ रुपैयाँसम्म बढाउनुपर्ने अवस्था थियो।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ तथा डिजेल–मट्टीतेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ।
दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल–मट्टीतेल १५१ रुपैयाँ पुगेको छ।
यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राख्दै पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेल १४९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।
मूल्यवृद्धिको कारणबारे निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको दबाबका कारण समायोजन गर्नुपरेको विस्तृत प्रष्टीकरण दिएको छ।






















