काठमाडौँ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिको कडा विरोध गरेका छन् । प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई सो पदमा नियुक्त गर्नु ‘१०० प्रतिशत गलत’ भएको पुनको टिप्पणी छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले नवनियुक्त श्रेष्ठलाई सो पद स्वीकार नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको ऐतिहासिक इज्जत जोगाउनका लागि पनि सानो लोभमा नफस्न उनले श्रेष्ठलाई सुझाएका छन् । “आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिऊ,” उनले लेखेका छन्, “त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ ।”
पुनले पुरानो राजनीतिक दलहरू नातावाद, चाकरीवाज र कृपावादका कारण संकटमा परेको उल्लेख गर्दै नयाँ दलहरूलाई समेत सचेत गराएका छन् । अहिलेकै शैलीमा काम गर्ने हो भने नयाँ शक्ति र दलहरू पनि कालान्तरमा मासिन सक्ने उनको चेतावनी छ ।
उनले आगामी दिनमा बन्ने सरकारले यस्ता नियुक्तिहरूमा बुद्धि पुर्याएर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । “होसियार गर्ने म छु । त्यो नियुक्ति अब आउने सरकारले बुद्धि पुर्याएर गरोस्,” पुनले भनेका छन् ।




















