काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ। सिफारिस गरिएकाहरुमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।
सचिवालयले दिएको जिम्मेवारी अनुसार कर्मचारी र सचिवालय सदस्यमार्फत तोकिएको समयभित्रै आइतबार नै नामहरू निर्वाचन आयोगमा पठाइने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उनले भने, “जब हामीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा नाम बुझाउँछौँ, उहाँहरूले रुजु गर्नुहुन्छ र प्रमाणीकरणको प्रक्रिया सुरु हुन्छ। त्यसपछि आयोगले ती नामहरू सार्वजनिक गर्छ। राजनीतिक र कानुनी रूपमा आयोगले प्रमाणित नगरेसम्म ती नामहरू हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुन्छन्।”
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको जनाएको छ।
क्लस्टरअनुसार प्रस्तावित संख्या यस्तो छ –
खस आर्य – १७ जना
आदिवासी जनजाति – १६ जना
मधेशी – ९ जना
दलित – ८ जना
थारू – ४ जना
मुस्लिम – ३ जना



















