सुर्खेत । १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीहरूले शुक्रबार सुर्खेतमा प्रदर्शन गरेका छन्।
उनकै कक्षा साथीहरू बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि भेला भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्। इनिसा वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालय मा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत थिइन्।
प्रदर्शनकारीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जस्टिस फर इनिसा’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विद्यालय परिसरबाट सुरु भएको र्याली प्रहरी कार्यालयको गेटसम्म पुगेर विरोध प्रदर्शन गरिएको थियो।
विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। इनिसाको मृत्यु शङ्कास्पद भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनीहरूको माग छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसाको शव फागुन २३ गते बिहान शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा फेला परेको थियो।
मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै फागुन २५ मा जिल्ला प्रहरी कार्यालय सुर्खेत मा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ, जो सबै इनिसाकै कक्षाका विद्यार्थी रहेको बताइएको छ।
प्रहरीका अनुसार फागुन २३ दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका लागि फागुन २४ मा अन्य तीन जनालाई नियन्त्रणमा लिइएको मोहनजंग बुढथापा (डीएसपी, सुर्खेत) ले जानकारी दिएका छन्।




















