काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावको पृष्ठभूमिमा परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ ।
बैठकमा पश्चिम एसियाली देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका लागि सरकारले हालसम्म गरेका प्रयास र प्रगतिबारे समीक्षा गरिएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र कूटनीतिक पहललाई निरन्तरता दिने, सम्भावित हवाई उद्धार उडान सञ्चालनको अवस्थाबारे अध्ययन गर्ने तथा आपत्कालीन नियन्त्रण कक्षमार्फत नेपालका कूटनीतिक नियोगसँग सम्पर्कमा आएका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि पश्चिम एसियाली क्षेत्रमा तनाव बढेको छ। रोजगारीका कारण त्यहाँ ठूलो सङ्ख्यामा नेपाली नागरिक कार्यरत छन्।




















