काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीलाई बृहत् एकताका साथ अघि बढाउनुपर्ने बताएका छन्
फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै नेता खड्काले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्
उनले प्रतिनिधिसभा निर्वाचनको परिणामले विभिन्न तह र जिम्मेवारीमा क्रियाशील कांग्रेसका नेता–कार्यकर्तालाई गम्भीर सन्देश दिएको बताए । “प्रतिनिधिसभाको निर्वाचन परिणामले विभिन्न तह र जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीलाई गम्भीर सन्देश दिएको छ। हाम्रा मतदाताको निर्णयबाट यो पाठ प्राप्त भएको हो,” उनले लेखेका छन् ।
नेता खड्काले अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर संयम र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “हामी सबैले ‘म म’ भन्दै विगतको निर्मम समीक्षा गरौँ,” उनले भने, “अस्वाभाविक महत्त्वाकाङ्क्षा र आग्रहबाट मुक्त भई पार्टीको बृहत् एकताका लागि निष्ठाका साथ अगाडि बढ्नु हाम्रो नैतिक कर्तव्य हो।”
उनले कांग्रेसका अगाडि हिमालयतुल्य चुनौती खडा भएको उल्लेख गर्दै त्यसको सामना गर्ने उपयुक्त बाटो पार्टीभित्रको एकता नै भएको बताए।
यसैबीच, गगनकुमार थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ । यस विषयमा उनले उपसभापति विश्व प्रकाश शर्मासँग परामर्श गरेको स्रोतले बतायो । तर उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएको बताइएको छ ।




















