काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने उद्योगी र विक्रेतामाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको अशान्तिका कारण भविष्यमा ग्यास आपूर्तिमा समस्या आउने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक भएको उल्लेख गरिएको छ।
तर, यस्तो परिस्थितिको फाइदा उठाउँदै सरकारले निर्धारण गरेको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको महासंघले स्पष्ट पारेको छ।
महासंघले देशभरका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपिल गरेको छ। साथै संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीमाथि कारबाही हुने विषय सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन पनि महासंघले निर्देशन दिएको जनाएको छ।





















