विराटनगर । उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका बुढाथोकीले मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गर्दै ढकाललाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
उनले पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ–६ मा विनोद ढकाललाई उपयुक्त देखेको बताए। “मोरङ क्षेत्र नम्बर ६ बाट यसअघि पटक–पटक निर्वाचित जनप्रतिनिधिले सदनमा जनताको आवाज प्रभावकारी रूपमा उठाउन सकेनन् र विकास निर्माणमा पनि अपेक्षित काम हुन सकेन,” बुढाथोकीले भने, “अहिले सदनमा मजबुत रूपमा आवाज उठाउन सक्ने सक्षम व्यक्ति ढकाल नै हुनुहुन्छ।”
मोरङ–६ ले बलियो आवाज, प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले क्षेत्रको समग्र हित, स्थिरता र प्रभावकारी प्रतिनिधित्वका लागि ढकाललाई समर्थन गरेको स्पष्ट पारे।




















