काठमाडौं । चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थ बिक्री–वितरण र सेवन गर्न पाइने छैन।
यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उक्त निर्णय गरेको हो।
सुरक्षा अवस्था मूल्याङ्कन तथा आवश्यक मार्गदर्शनका आधारमा अन्य थप निर्णयसमेत कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोग ले जनाएको छ। समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचार–प्रसार पनि निषेध हुनेछ। सो अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालय ले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेध गरिएका कार्य हुन नदिन कडाइ गर्ने जनाइएको छ। उल्लङ्घन पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराइनेछ।
यसैबीच, मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचनका लागि पास प्राप्त सवारी बाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधनहरू समावेश छन्।



















