काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि लाग्ने खर्च जुटेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च प्राप्त भइसकेको उल्लेख गरेकी छन् ।
साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् । उक्त रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा लाग्ने आवास र यातायातमा पनि पुग्ने भएकाले अब सहयोग नगर्न उनले आग्रह गरेकी छन् ।
साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।
अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ । उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब रु ४५ लाख ९५२ हजार न्युजिल्यान्ड डलर० सङ्कलन भइसकेको जानकारी दिइन् । यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले आजैदेखि दुवै खातामा रकम सङ्कलन रोक्न अनुरोध समेत गरिन् ।
भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी दिइन् । छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताइन् । “अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु”, भण्डारीले प्रतिबद्धता व्यक्त गरेकी छन् । करिब दुई महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर छन् । (रासस)




















