
इटहरी । सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सुनसरी ३ का तीन सय युवाहरु भगबती चौधरीलाई जिताउने अभियानमा जोडिँदै नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।
सो अवसरमा जेनजी युवाहरुलाई स्वागत गर्दै उम्मेद्वार भगबती चौधरीले जेनजीका माग र मुद्दाहरु नेकपा एमालेले मात्र संवोधन गर्न सक्ने बताइन् । एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गते पछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडी बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाहरुका माग र मुद्दा प्रति केन्द्रीत भएर घोषणा पत्र तयार पारेको पनि उनले बताएकी छिन् । साथै उनले देश विकास गर्न युवाहरुमा लगानी गर्नुपर्ने बताउँदै युवाहरुलाई देशमै स्वरोजगार बनाउनु पर्ने बताइन् ।
त्यसो त, देशभर ५० हजार भन्दा बढी महिलाहरुलाई उद्यमशील बनाउन सफल भगबती चौधरीले २ हजार बढीलाई रोजगारी दिनुका साथै आफ्नो क्षेत्रमा मात्रै सयौं गरिब, विपन्न तथा असहाय नागरिकलाई सुरक्षित घर बनाई दिइसकेकी छिन् । आउँदो समय आफ्ना क्षेत्रका गरिब, विपन्न नागरिकहरुलाई ५ सय घर निर्माण गरिदिने प्रतिबद्धता जनाएकी चौधरीलाई विकास प्रेमी नेतृका रुपमा लिइन्छ ।
सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागी गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताए । सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतका अनुसार भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने कार्यमा युवाहरुको सक्रिय सहभागीताको अपेक्षा छ । बस्नेतका अनुसार भगबती चौधरी जनताका हरेक सुख दुखःमा साथ दिने नेतृ भएकोले उनलाई पुनः जिताएर पठाए क्षेत्रको मात्र नभइ समग्र देशको हीत हुने छ ।




















