कास्की । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा अवस्था र तयारीबारे उच्चस्तरीय चासो व्यक्त गरेकी छन् । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी हुन पोखरा पुगेकी प्रधानमन्त्रीले सोही अवसरमा प्रदेशको शान्ति सुरक्षा र निर्वाचन लक्षित तयारीबारे विस्तृत जानकारी लिएकी हुन् ।
छलफलका क्रममा प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचनको प्राविधिक तथा सुरक्षा पक्षबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न चालिएका कदमबारे सुरक्षा निकायका प्रमुखहरूले फेहरिस्त प्रस्तुत गरेका थिए ।प्रदेश प्रमुख सचिव घिमिरेका अनुसार प्रदेशमा क्रियाशील सुरक्षा संयन्त्रसहितको निर्वाचन सेलले गरिरहेका गतिविधि र हालसम्मको कार्यप्रगतिको प्रधानमन्त्रीले सूक्ष्म अध्ययन गरेकी छन् ।
सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनलाई सुरक्षित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै आवश्यक सुरक्षा रणनीतिबारे मार्गनिर्देशन समेत गरेकी थिइन् । निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन र निर्वाचन सेललाई थप सक्रिय बनाउन उनले जोड दिएकी छन् । (रासस)

















