काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले बेलायत पठाउने भन्दै दुई जनाबाट करिब ५० लाख रुपैयाँ लिई ठगी गरेको आरोप छ।
पक्राउ परेकी युवतीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।




















