
काठमाडौं । महाशिवरात्रि तथा सेना दिवस-२०८२ आज सैनिक मञ्च, टुँडिखेलमा विविध कार्यक्रमहरू सहित मनाइएको छ । उक्त विशेष समारोहको शुभारम्भमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरे ।
उनले नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही-२०८२” विमोचन गर्नुका साथै फ्री-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः प्रमुख सेनानी विवेक विक्रम शाह र हुद्दा रमेश कुमार चौधरीलाई पुरस्कार प्रदान गरेका छन् ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा नेपाली सेना सहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट समेत साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
सो अवसरमा प्रधानसेनापतिले विभिन्न क्षेत्रबाट सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने गैर सैनिकहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गरेका छन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरू सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
























