मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली दुई पटकको च्याम्पियन वेस्ट इन्डिज क्रिकेट टोलीसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनायो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रनको अर्धशतक प्रहार गरे। अन्तिमतिर सोमपाल कामीले अविजित २६ रन जोड्दै स्कोर प्रतिस्पर्धी बनाएका थिए ।
१३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो। कप्तान शाई होपले अविजित ६१ र शिमरोन हेतमायरले अविजित ४६ रन बनाए। नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए।
समूह ‘सी’ मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुग्ने पहिलो टोली बन्यो। इंग्ल्यान्ड क्रिकेट टोली ४ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्यान्ड क्रिकेट टोली र इटली क्रिकेट टोली समान २–२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। अब इंग्ल्यान्ड र वेस्ट इन्डिजको इटलीसँग खेल बाँकी छ।
नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भइसकेको थियो। लगातार तीन हारपछि नेपाल अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको हो। अब स्कटल्यान्डसँगको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
कीर्तिमान
यस खेलसँगै सोमपाल कामी नेपालका लागि तीनवटा टी–२० विश्वकप खेल्ने एकमात्र खेलाडी बने। उनले सन् २०१४ देखि नेपालले खेलेका सबै विश्वकपमा सहभागिता जनाउँदै इतिहास रचेका हुन्।




















