रौतहट । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।
बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए । दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।
प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।




















