वीरगञ्ज (पर्सा) । गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आर्दशनगरस्थित मदन गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
उनका अनुसार, पक्राउ पर्नेमा वीरगञ्ज महानगर–१० घडीअर्वाका प्रमोदकुमार कानु, सोही ठाउँका कुञ्जन सर्राफ, वीरगञ्ज–१, छपकैयाका दिपराजसहनी मलाह, विन्दवासिनी गाउँपालिका–५ का श्रीचन्द्रप्रसाद साह र भारत विहार राज्य घर भएका प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन् ।
संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशंकामा आदर्शनगरस्थित गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब रु १२ लाख ५० हजार मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ । (रासस)



















