काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । विमानस्थल गेटमै समर्थकहरूले विभिन्न नारासहित उनको स्वागत गरेका छन् । शाहले गाडीबाट समर्थकहरूतर्फ हात हल्लाउँदै अभिवादन गरेका थिए ।
विमानस्थल क्षेत्रमा उनको समर्थनमा ठूलो संख्यामा समर्थकहरू उपस्थित छन् । उनीहरू शाहलाई र्यालीसहित निर्मल निवास पुर्याउने तयारीमा छन् । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।
विमानस्थल परिसरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यसैबीच राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थलभित्रैबाट स्वागत गरेका थिए ।
पूर्वराजालाई विमानस्थलबाट निर्मल निवास लैजाने तयारीसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको हो ।
हाल काठमाडौंका विभिन्न चोक–चोकमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन् ।




















