काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं फर्किदैछन् । उनलाई स्वागत गर्न राजावादी समूहले समर्थकहरुलाई विमानस्थलमा उपस्थितिका आव्हान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा प्रदर्शन, भेलाका लागि निषेध गरे पनि उनीहरुले गर्न सक्ने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले शुक्रबार बिहानैदेखि काठमाडौंका मुख्य सडक र चोक–चोकमा सुरक्षा सतर्कता बढाएको छ ।
नियमित गस्ती, चेकजाचलाई कडाइ गर्नुका साथै अतिरिक्त प्रहरी समूहलाई पनि स्ट्याण्डबाइमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सडक, चोक र गल्लीहरूमा हुन सक्ने अराजकतापूर्ण गतिविधि रोक्न थप संख्यामा प्रहरी परिचालन गरिएको हो ।
राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम राखेकाले सोही अनुसार सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । बिहानैदेखि विमानस्थल प्रवेश गर्ने यात्रु तथा आगन्तुकको चेकजाँच कडाइका साथ भइरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् ।
काठमाडौंमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विभिन्न गण, गुल्म तथा अन्य कार्यालयका प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ । आवश्यक परेमा तुरुन्त परिचालन गर्न थप सहायता टोलीसमेत तयारी अवस्थामा रहेको प्रवक्ता भट्टराईले बताएका छन् ।




















