काठमाडौँ । तीन दिनअघि रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त, स्थानीय प्रशासन तथा अरनिको यातायात व्यवसायीबीच गएराति १९ बुँदे सहमति भएको छ।
स्थानीय प्रशासनको पहलमा भएको सहमतिपछि पीडित परिवारले जारी राखेको आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
गत मंगलबार काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुल नजिकैबाट तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्।
दुर्घटनामा घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सहमतिअनुसार अरनिको यातायातले मृतकका परिवारलाई प्रचलित कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्तिको लागि तत्काल आवश्यक व्यवस्था गर्नेछ। थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिले सहजीकरण गर्ने, अस्पतालमा रहेका मृतकका शव परीक्षण गरी दाहसंस्कारका लागि सम्बन्धित परिवारसँग समन्वय गर्ने सहमति भएको छ।
त्यसैगरी दुर्घटनामा परेको बसका चालकलाई कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाउने, दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजी जारी राख्ने तथा उनीहरूलाई पनि मृतक सरह मानी नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।
सहमति कार्यान्वयनका लागि पीडित पक्षबाट प्राप्त पत्र सम्बन्धित यातायात सेवा प्रालि, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइने उल्लेख गरिएको छ। यात्रुको जीउधन जोखिममा पार्ने गरी सवारी साधन सञ्चालन गरेको पाइएमा कानुनअनुसार सवारी साधनको दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने पनि सहमतिमा समावेश छ।
यसैगरी प्रत्येक स्थानीय तहमा सवारी साधन सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने, रामेछापमा सञ्चालन हुने सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, जोखिमयुक्त मोड, पुल तथा साँघुरा सडकको पहिचान गरी तत्काल मर्मतको पहल गर्ने निर्णय गरिएको छ।
सवारी सञ्चालकले अनिवार्य रूपमा सवारी चालक र सवारी साधनको परीक्षण गर्ने, यात्रुका सामानबाहेक अन्य मालसामान ढुवानी गर्न नदिने लगायतका विषयमा पनि सहमति भएको छ।






















