रौतहट । रौतहट क्षेत्र नम्बर- २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध अनुसन्धानका लागि ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए । बिहीबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।
उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ। उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । घटनापछि स्थानीय आक्रोसित बनेका छ्न् ।


















