काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। नेपाल प्रहरीले उनलाई केही बेरअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाईं वीरगन्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।
यसअघि पनि यही माघ ५ गते प्रसाईंलाई पोखराबाट पक्राउ गरिएको थियो। सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका उनलाई काठमाडौँ ल्याएर माघ ६ गते हाजिरी जमानीमा रिहा गरिएको थियो।
प्रहरीका अनुसार स्थानीय प्रशासनको अनुमति नलिइ आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
प्रसाईं राजावादी अभियन्ताका रूपमा चिनिन्छन्। उनले विभिन्न माग राख्दै आगामी २१ फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।
यसैबीच, उनको समूह र सरकारबीच यही माघ २ गते निर्वाचनविरुद्ध गतिविधि नगर्ने सहमति भएको थियो। सिंहदरबारमा दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि महाभियानले आफ्ना सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको थियो।
यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि प्रसाईं पक्राउ परेका थिए।




















